prativanepal.com

exploring art culture and literature….

जती नयाँ-सुनिल संगम

सुनिल संगम

जती नयाँ आए पनि साल उस्तै उस्तै
कहाँ फेरियो देश यहाँ हाल उस्तै उस्तै

कस्तो होला होला भन्यो हेरी मख्खै पर्‍यो
बिज्ञापन पो फरक रैछ माल उस्तै उस्तै

आफ्नै भुँडी भर्दारैछन के को जनतालाई
जो गएनी सरकारमा चाल उस्तै उस्तै

पड्किदैछ अझै पनि मरेकै छ मान्छे
बन्दुक मात्र फरक रैछ नाल उस्तै उस्तै

शान्ति छायो भन्थें अब भेट्छु होला माया
नहुने भो संगम कठै ताल उस्तै उस्तै

. Posted by prativanepal | ग़ज़ल | | No Comments Yet

धमिला राता दागहरू



आशाका किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म …
सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।

खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?

हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।

रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।

हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।

सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ –बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ –राँको र टायरका धुंवाले ।

ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।

कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।

धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरी भरी,
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।

हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।

संगै जोडिएको पूर्ण संप्रेषण यहाँ थिचेर पढ़न सकिन्छ

. Posted by prativanepal | कविता | | No Comments Yet

पिडा मनमा-दिनेश राज ज्ञवाली

 

 

पिडा मनमा बेरियो, अनि गजल केरियो ।
आफ्नो रहर शेरियो , अनि गजल केरियो ।

दोबाटोमा भेट हुने , अन्जान मायालुको
हिड्ने बाटो फेरियो , अनि गजल केरियो ।

आफ्नाहरु भाग्दैथिए ,जलाई मेरो घर ।
चुप तमाशा हेरियो , अनि गजल केरियो ।

आउँछन सुखहरू,भन्थे बाटो खोलिदे ।
काँडे तारले घेरियो ,अनि गजल केरियो ।

झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा
कहाँ कस्लाई टेरियो , अनि गजल केरियो ।

. Posted by prativanepal | ग़ज़ल | | No Comments Yet

रिसाउँदा-सुनील संगम

रिसाउँदा आगो हुन्छौ खुशी हुँदा पानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी

घुर्क्याउँछौ कहिले काहीं कुरा जान्दा जान्दै
लाडिएर बोल्छौ फेरी अंगालोमा तान्दै
शर्माउँछौ आफै अनि लाज मानी मानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी

ठट्टा गर्दै कहिले काहीं धेरै सताउँछौ
रुवाएर आँसु पुच्छदै फेरी फकाउँछौ
सुताउँछौ काखै माथि अनि तानी तानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी

. Posted by prativanepal | गीत | | No Comments Yet

आमा कहाँ बिलायौ -आचार्य प्रभा

आमा कहाँ बिलायौ    आचार्य प्रभा
आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइे
छाडेर गयौ ….
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ …
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी
शुन्यमा बिलायौ …

जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई  तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन… आमा तिमी कस्तो सजाय दिइे
टाढा टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
 मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्शल्यताको अर्थ किन लुटायौ ?

(समर्पित ”मदर्स डे ”मा )

. Posted by prativanepal | कविता | | No Comments Yet

गजल -केशब आचार्य

”गजल ”                      केशब आचार्य

तिमीसँग जिन्दगीको धेरै कुरा गर्नु थियो
ओभानो त्यो तिम्रो सिउँदो सिदूरले भर्नु थियो …

उजाड यो जिन्दगी यो सधैंभरी आफ्नोलागी
चन्दा मागी तिमीसँग माया केही छर्नु थियो …

आँधी चल्छ छात्तिभित्र निराशाको भेलसङै
परिसक्यो जिन्दगी यो भूमरिमा पर्नुथियो …

आफ्नै बाटो आफ्नै साथ जिन्दगीको यात्राभरी
झरिसक्यो कोपिलामै जिन्दगी यो झर्नु थियो ….
(अमेरिका )

. Posted by prativanepal | ग़ज़ल | | No Comments Yet

अब हाम्रो पालो प्रवेश पौडेल

 
 
देश कता-कता
हाम्रा खोलाको पानीजस्तो लाग्छ ।
कहिल बिस्तारै बग्छ
कहिले गाँवै बगाएर लग्छ
कहिले छाँगाबाट खस्छ
कहिल ढुङ्गामा अल्झन्छ
अनि पुरानो घाउ बल्झन्छ
जरो गाडेर बेला बेला दु:ख दिने
यस्ता घाउ फाल्न मनलाग्छ
मलमपट्टी लगाएर टाल्न मनलाग्छ
मेरो देशलाई आज
रूढीवादी घाउहरू बल्झेको छ
ती घाउहरू फालेर
नयाँ नेपाल बन्छु कि
भन्ने आशमा अल्झेको छ ।

राष्ट्रपति पाएँ भनेर रमाउँछ देश
प्रधानमन्त्री पाएर दशैँ मनाउँछ देश
तर
घाउ बिसेक पारिदिने
संविधान नबन्ला कि भनेर
खुट्टो कमाउँछ देश
हाम्रा खोलाजस्तै
भारतमा बिलाउँछु कि भनेर
च्याप्प पारेर हाम्रो हात समाउँछ देश ।

अब हाम्रो पालो……………
 
 
प्रवेश पौडेल
काठमाण्डौ विश्वविद्यालय
नेपाल

. Posted by prativanepal | कविता | | No Comments Yet