यतिखेर प्रतिभासंग धेरै
तीता मीठा र इजरायली प्रवासका विसंगत अनुभव हरु
र लेखनु पर्ने धेरै यथार्थताहरु छन।
च्वास्स बिझे पनि समझाऊन मन लागेको छ, जे हो त्यों नभनी भएकै छैन।
हामी एकता मा दरिद्रप्राय छों, यो तिक्त यथार्थ ओकल्दा धेरैलाई मन दुखन सकला,यद्यपि हामी खुट्टा तान्न,भत्काऊन अनि बिगार्न भने अति नै सक्रिय छौं
यसलाई प्रेमिलो ईर्ष्या भन्न पनि मिल्दैन।यो सक्रियता एकता को प्रयास तर्फ उन्मुख भए कति जाती हुन्थ्यो होला?
पछिलो पटक प्राप्त कही प्रतिक्रियाहरुले प्रतिभाको उर्जा र मनोबलमा अर्को उचाई थपेको छ।इजरायली प्रबासका हाम्रा पाठक तथा शुभ चिन्तकहरुलाई हामी दिल देखि आभार प्रकट गर्छौ,जसले हाम्रो प्रयास र कदम लाई सुझाव सल्लाह र शुभकामना का शब्द हरुले स्वागत गरेर शुभ्रता को आभास दिए।
अनि अर्कोतिर ती मध्य केही निम्न स्तरीय चेतनायुक्त हिनभावले ग्रसित मानसिकता बोकेका पांडाहरु पनि देखिए जोसंग आफू बाहेक अरुको उपस्थिति स्वीकार गर्ने हिम्मत मात्र नभएको होईन की कसैको कोशिसलाई अंदाज़ गर्ने र हेर्न सकने नज़र पनि छैन।
उनिहरू त्यों मान्छे यस्तो हो, यो मान्छे त्यस्तो होईन भन्दै एउटा लबीको सृजना गर्दै हिडछ्न अनि पछौटेहरु बाहेक अरु सबैको कोशिस माथी औला उठाऊछन।
नया युग, नया शताब्दी अनि प्रजातांत्रिक राष्ट्रका स्वतंत्र नागरिक जो कोहीले पनि एकपटक अनुमान गरौ त,
एउटा गायकले अर्को गायकलाई तैले गाउनु पाउदैनस भन्नु वा एउटा कलाकारले अर्को कलाकारलाई तैले अभिनय गर्नु पाउदैनस भन्नु कति घटिया अनि बेवकूफीपन हो।
हाम्रा लागि भने यो प्रश्न नया होईन यस्तो नेपाली “बहादुर” प्रवृत्तिसंग हामी बर्शौदेखि परिचित छौ,र यसलाई त्यसरी नै हेरेका छौ।यहा आफ्नो सही नाम लेखेर सभ्य तवरले सही प्रतिक्रिया दिनु सकने साहस नभएका छद्मभेषी बेनामी हरु इजरायल मा धेरै नै रहेछ्न। तर खुसी के मा छ भने प्रयास अनि प्रतिभाको कदर गर्ने र साथ दिनेहरुको आकार छद्मभेषीहरुको भन्दा अत्यंतै बिशाल र स्पष्ट छ अनि क्रमश बढ़दै जानेछ, हामी बिश्वस्त छौ।
संसार मा कुनै पनि कुरा दंत्य कथाका पात्र वा कुनै जादुगरले जस्तो निमेषभर मैं अनायास सिर्जित हुदैन।
त्यसको लागि समय प्रतीक्षा र धैर्य को जरुरी छ। प्रवासको यो व्यस्तता वा समय अभावका कारण हामीसंग असंख्य प्राविधिक त्रुटीहरु जरुर छन,लेख रचना र नियमित संप्रेषण का सम्बन्धमा पनि सुझाव प्रतिक्रियाहरु आएका छन।हामी तिनको क्रमश परिस्कार र सुधार गर्दै लग्ने प्रतिबद्दता व्यक्त गर्छौ।
अर्को कुरा प्रतिभा समूह को इंटरनेट सस्करण अत्यन्त सूक्ष्म जनाऊ आवाज़ मात्र हो, यदि कसैलाई यही नै प्रतिभा समूहको सम्पूर्ण आयाम हो भन्ने लाग्छ भने त्यों उसको भ्रम हो। फेरिपनि यो वेब पत्रिका हाम्रो लक्ष्य को एउटा अंश को रुपमा चाही हामीले निश्चय नै मानेका छौ।यसर्थ यसमा व्यबस्थापन वा संपादन मंडलीकेा ठुलो हूल तयार नगरेर कुनै गल्ती गरे जस्तो लाग्दैन।
प्रतिभाको परिचय वा आकार कोर्ने आरंभको घड़ीमा छौ हामी, कसैले त शुरू गर्ने पर्छ होईन र? र यसको शुरुवात सुनील, कृष्ण वा फलानोले गर्यो भन्दैमा बेनामी हरुलाई टाउको किन दुखेको हो?
प्रतिभा पुस्ता सचेतना र स्वतंत्रतामा बिस्वास गर्छ,मानिलिउ गौरीशंकर ले प्रभातको किरणलाई पहिलो पटक स्वागत गर्छ,त्यों यथार्थतालाई लिएर सगरमाथा वा कंचनजंघा ले ईर्ष्या गर्दैन।एक अर्काको अस्तित्वलाई स्वीकार र सम्मान गर्नु नेपाली संस्कृतिको परिचायक हुनुपर्छ।यो आदर्शमा हामी आस्था राख्छौ ।
प्रतिभाका सहयात्रीहरु विवेकहीन र खुट्टा तान्ने प्रवृत्तिका पाखंडीहरु होइनन,हामी शालीन,उर्जावान र प्रतिबद्ध जागरूक युवा पुस्ता लाई समेटने जमर्को गर्दैछौं।यद्यपि सबै संघ,संस्था वा समूहप्रति हाम्रो आदर वा सम्मान उत्तिकै छ।
कलाको नाऊमा भिड्मा रमिता गरेर ताली बटुल्ने नटुवाहरुमाथी वा साहित्यका नाऊ मा ट्रकका भित्ते सायरी स्तरका कविता अनि हमजायेगाका कथा पढ़न रुचाउने जमातमाथि हामी अपरिवर्तन को दोष दिनु चाहन्नौं।खोट हाम्रो विद्द्वतामा छ।हामी प्रवृत्ति,झूकाव वा शैली बदल्नु चाहन्छैा।
प्रतिभा एउटा जागरण को उफान सृजना गर्न चाहन्छ र हाम्रा शुभ चिन्तक हरुले के बुझ्नु जरुरी छ भने हाम्रो झुल्काई पूर्वको आँगनमा भर्खर उदाएको मात्र हो,हामी रैथाने बादलहरुको परवाह गर्दैनौ,क्षितिज उघ्रेपछि आकाशको आकार कत्रो हुनेछ तिमिले अनुमान गरेकै छैनौ।
प्रतिभा पुस्ता अरुलाई दलाल फ़टाहाको संज्ञा दिदै हिडने रोगी र हिनभावका बेनामी हरुलाई येतिखेर तितो पाठ सिकाउने पक्षमा छैन। यस्तो परम्परा,संकीर्ण सोच अनि प्रवृत्ति समयसंगै बिस्तारै भत्किएर जानेछ आशा गरौं।
प्रतिभाका सहकर्मीहरु पाईलाका ठेस, पर्खाल वा समस्या हरुलाई कला,साहित्य र संस्कृतिप्रतिको आस्था,मानवीय मूल्य मान्यता र वस्तुनिष्ठताको तपले पन्छाउनु चाहन्छन ।कला र कलम लाई एकसाथ लग्ने हाम्रो कदम ,शुष्कता निष्क्रियता र निस्सारतालाई भंग गर्दै सचेतना को उज्यालो चुम्नु चाहन्छ।
हामीले विध्वंशकारी हरुको चेतनाको स्तर बुझेका छौं,र धेरै मुखुन्डोवाला नक्कली अनुहारहरु संग बाध्यताबस उठ्बस पनि गरेका छौ,यो स्थितिमा पनि हामी तिन्लाई प्रेम गरिनै रहन्छौ, र पाईला सारी नै रहन्छौ।
स्विकार्नु नस्विकार्नु वा हत्केला ले छेक्नु उनिहरू को काम हो,तर घाम त उदाऊछ नै,हामी पनि रोकिदैनौ।
स्तम्भको अन्त्यमा
शब्द साहित्य – एकहरफ च्वास्स
“ए गतिहीन बर्तमान ! तैले प्रतिभालाई कति चिनेको छस?”
छद्मभेषी दामी काले
