सिमास्तम्भ -कृष्ण थापा
सिमास्तम्भ
कृष्ण थापा, इजरायल
मध्यपूर्वको यो समृद्ध इजरायल
उत्तरको सुंदर पहाडी वस्ति हाइफा
जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर
म लेबनान माथिको बादल नियाल्छु
जो भर्खर चांदी र सुनौलो हुदै
सिंदूरी रंगमा परिवर्तन भै रहेछ ।
बादलको रंग बद्लिनु
यो शुभ संकेत हो,
स साना बंदरगाह साथै जहाजका तांती लिएर
शान्तिको निलो रंगमा तरंगित यी छालहरू
समय का बगारहरू मा स्पर्श गर्दै -यही भन्छन ।
ध्वस्त भएका खंडहर संरचना जस्तै
हजारौं क्षेप्यास्त्रका प्रहार ले भत्किएको मन बोकेर
लेबनान मौन छ,
जसरी यसको छातीमा खातका खात घातहरु
लुकाएर सगर मौन बसेको हुन्छ ।
यो राजकीय संध्या
जून जस्तै जुनको महिना
यहाँ धेरै राता गुलाफ़हरु फ़ुल्छन ।
यही सांझ कोबाक्लो घुमटाे उघार्दै
म देख्छु जून यहाँ पनि उदाउछ, मेरो देशमा जस्तै
यसका किरणहरु जब धरतीका छातीहरुमा छरिन्छन,
सायद त्यो शीतल स्पर्श
एउटा इजरायलीले उस्तै महशुश गर्छ,
जसरी कुनै प्यालेस्तिनीले गर्छ,
जसरी कुनै सिरियाली इजिप्सियन वा
मैले महशुश गरिरहेछु ।
तर यो जून, यो अकास, यो धरती र निश्छल सागरहरू
अनि प्रकृतिको यो शास्वत समानतालाई
हाम्रो मानव सभ्यताले कुन्नी कतिखेर भत्काइ सकेछ
हामीले थाहै पाएनौं,
यो साझा धरती का हरिया जंगल दूँगा र माटो माथि
कुन्नी कतिखेर
युद्धका पदचिन्ह हरु छापिदै गएछन,
हामीले थाहै पाएनौं ।
यहूदीहरुको यो पवित्र भूमि
जहाँ धर्म र आध्यामिक चेतना को उदय भयो,
इतिहासका बिबिध कालखंड देखि आजपर्यंत
फेरी पनि शक्ति, शासन, र संघर्षकै कथाहरु
र युद्धका श्रंखला हरु यसका पर्याय बनिरहे
मानिसका पापहरुका निमित्त
क्रुशमा टांन्गिएर जीससले प्राणको आहुति दिएझै
आजको धर्म र राजनितिले
सधै सधै मान्छेको रगत मागीरह्यो मागीरह्यो ।
हामीले किन यो सत्यलाई बिर्सियौं?
पैगम्बर,जीसस,बुद्ध वा मोशेहरुले त कहिलै
हत्या, हिंसा र युद्ध लाई प्रेम गरेनन,
यो बिरोधाभास,
के मानवीय चेतनाको गंभीर उपहास होइन?
गाजा र पश्चिमी किनारमा
फेरी हिंसा भड़किएको छ,
फेरी बारुद्का धुवा हरु उडेका छन,
संग संगै जहाँ लाखौं शरणार्थीका शिविरहरु भत्किरहेछन,
हिज़बोल्ला,हमास र कट्टर इस्लामी समूहहरु अनि समस्त आतंकवाद
मध्यपूर्विय शान्ति का स्थायी अवरोध मात्र होइनन,
हाम्रो सभ्यताले, हाम्रो राजनितिले र हाम्रै युगले जन्माएका
घाऊहरु हुन,पीडाहरु हुन्,
यस्ता दुःखदायी अनगिन्ती खाटाहरु, डोबहरु
इतिहास भरी भरी छापिएका छन,पुरिएका छन,फेरी छापिएका छन ।
आफ्नो देशको ??? क्षितिजतिर टोलाउदै
पश्चिमी किनारमा उभिएर
यौटा बृद्ध प्यालेस्तिनी शरणार्थी
मलामिको लामो लश्कर जस्तै
१९४८ का टी दिनहरू सम्झंछ,
जोर्डन, सीरिया, लेबनान र इराकतिर भागेका
लाखौंलाख दौतरीहरु झै
उसको पनि घर फर्कने सपना
डुब्दै गरेको जहाजजस्तै, आफै भित्र मरिसकेको छ ।
विस्थापन,पराधीनता र आभावका
बग्रेलती अनुत्तरित प्रश्न माथि
सायद जीवन भोगैको यो अन्तिम प्रश्न
उ आफै संग सोधिरहेछ ,
“धरती किन यसरी काडाका पर्खालहरु जस्तै
देशका सिमानाहरुमा विभाजित छ?”
उ प्रत्येक सिमस्ताम्भहरुमा योद्धाका चिहानहरु देख्छ ।
उ प्रत्येक सिमस्ताम्भहरुमा रगतका छापहरु देख्छ ।।
(नेपाल चौतारी )







