अंग्रेजी नया बर्ष २००९ को अवसर मा २ जनवरी शुक्रबार इजरायल को तेल अभिभ मा नेपाली नारी आवाज़ इजरायल (nepalese womans voice israel ) द्वारा एक भव्य सांस्कृतिक तथा सम्मान सांझ संपन्न भयो।
कार्यक्रम भवनको प्रवेशकक्ष मै नेपाली संस्कृति झल्काउने ढाका टोपी र खादाले दाजू भाई को स्वागत गरेका नारी आवाज़ का चेलीहरु ले प्रवासको विरानोपन मा देखाएको हार्दिक अपनत्वको प्रशंशा नगर्ने हरु कोही थिएनन ।गीत नृत्य नाटक र व्यंग्य हरुको अत्यन्त सुंदर प्रस्तुति रहेको सो नया बर्ष कार्यक्रम सांस्कृतिक र मनोरंजनात्मक त थियो नै यसका साथै नेपाली समुदायको सेवामा समर्पित स्वदेशी तथा विदेशी समाजसेवी संघ संस्था तथा व्यक्तित्व हरु लाइ सम्मान तथा कदर पत्र समेत प्रदान गरिएको थियो . सो कार्यक्रम को समुदघाटन नेपाली दूतावास इजरायल का महामहिम राजदूत श्री बैजनाथ थपलिया ले गर्नु भएको हो ।
यसरी विदेशी कामदारको हक़ हित अधिकारका लागी लड़ने, जनचेतना अभिवृद्दि गर्नुका साथै अलपत्र वा जोखिम मा परेका अवस्था मा सहयोग गर्ने स्थानीय संघ संस्था हरुलाई नेपाली समुदायको तर्फ बाट यती ठुलो सम्मान गरिएको यो नै पहिलो अवसर हो ।
सम्मानित प्रत्यक संघ संस्था तथा व्यक्तित्वहरुलाइ सम्मानपत्र र मायाको प्रतिक तामाको बुद्ध प्रतिमा उपहार दिईएको थियो सम्मानित संस्था हरुमा नेपाली दुतावास इजरायल, कावला ओभेद, मेसिला, हटलाइन फर माइग्रेन्ट वर्करस, फिजिसियन फार ह्युमन राइटस, सिस्टर अर्गनाइजेसन,रेप क्राइसिस सेंटर, नेपाली कामदार सहयोगी मंच लगायतका संघ संस्था तिनका प्रतिनिधि तथा स्वयंसेवी हरु थिए ।
विदेशी वक्ता हरुले सम्मान पत्र पाएको मा नेपाली नारी आवाज़ र नेपाली समुदाय लाइ धन्यवाद दिदै नेपाली हरुको सहृदयता, र सत्कार को शैली बाट सबैले पाठ सिक्नु पर्ने धारणा व्यक्त गरेका थिए ।नया वर्षको शुभ कामना व्यक्त गर्दै प्रमुख अतिथि राजदूत थपलियाले नेपाली समाजका लागि समर्पित संघसंस्थाहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रस्तुतिकै क्रममा इजरायल आएर रोजगारविहीन भै समस्यामा परेका नेपाली युवा युवतीको यथार्थपरक कथामा आधारित नाटक कथा भित्रको व्यथा मंचन गरिएको थियो अर्जुन जयसवाल द्वारा निर्देशित सो जीवन्त एकांकी हेरेर धेरै दर्शक हरुले आफु पनि इजरायल आएपछिको संघर्षको क्रममा कुनै न कुनै मोड़मा त्यस्तै भोगाइबाट गुज्रिएको अनुभव गरे ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ तथा नेपाली कामदार सहयोगी मंचका अध्यक्ष भुवन सिंह कुंवरले नेपाली हरुमा नया बर्ष को शुभकामना दिदै प्रवासमा रहेका नेपालीहरुको साझा समस्यालाइ समाधान गर्न सबै नेपाली संघ संस्था हरु एक भएर लाग्नु पर्ने र सामाजिक कार्यमा लागेका हरु सबैले आ आफ्नो जिम्मेवारीबोध गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

नेपाली नारी आवाज़ इजरायलकी अध्यक्ष श्रीमती श्रृजना महतले कार्यक्रम बाट संकलित रकम इजरायलमा आई कामको सिलसिलामा दिवंगत भएकी नेपाली चेलीको सम्झनामा स्थापित स्वर्गीय अनीता तामांग स्मृति कोषमा जम्मा हुने र समस्या मा परेका नेपालीहरुको सहयोग र उद्धारका लागि प्रयोग हुने कुरा बताउनु भएको थियो नेपाली नारी आवाज़ इजरायल ले स्थानीय संस्था हरु संग मिलेर तालीम सञ्चालन गर्ने हक़ अधिकार का लागि चेतना फैलाउने, अवश्यक परेकाहरु लाइ सम्बंधित निकायमा पुर्याई सहयोग गर्ने तथा अप्ठ्यरोमा परेकाहरुको उद्धार गर्ने, कार्य गर्दै आएको छ ।
कार्यक्रममा इजरायल स्थित नेपाली समुदाय को लागि बिभिन्न्न क्षेत्रमा योगदान पुर्याउनु भएका नेपालीहरुको समेत सम्मान गरिएको थियो यसरी सम्मानित हुनेहरुमा नेपाली दुतावासका प्रथम सचिव कुमारराज खरेल, समाजसेवी भुवन सिंह कुंवर, वरिष्ट नृत्य निर्देशक तथा कलाकार विजय विष्ट , कलाकार देवकी ढकाल, चुनु बानिया र लेखक साहित्यकार कृष्ण थापा रहनु भएको थियो ।
अर्जुन जयसवाल,
तेल अभिभ, इजरायल

