काठमाडौं जनवरी, ५
श्रम तथा यातायात व्यवस्था मन्त्री लेखराज भट्टसँग मित्रराष्ट्र इजरायलका राजदूत डान स्टावले सोमबार शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उहाँहरूबीच नेपाली कामदारहरूलाई इजरायलमा काम गर्न पठाउने प्रक्रियालाई सरल र पारदर्शी बनाउने विषयमा छलफल भएको मन्त्रालयले एक प्रेश विज्ञप्ति मार्फत जनाएको छ ।
इजरायलमा काम गर्न पठाउनु भन्दाअघि नेपाली कामदारहरूलाई कामसँग सम्बन्धित व्यावहारिक ज्ञान र सीप प्रदान गर्नका लागि दिइने प्रशिक्षणको गुणस्तरमा सुधार गर्ने विषयमा पनि सो भेटका अवसरमा छलफल भएको जनाइएको छ ।
साथै यसअघि काठमाडौस्थित इजरायली दूतावासबाट स्वीकृति लिएपछि श्रम विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा आगामी दिनमा पहिला श्रम विभागबाट स्वीकृति लिएपछि मात्र दूतावासले स्वीकृति दिने भएको छ।
यसअघि कामदारको मागको आधारमा इजरायली दुतावासबाट भिसा लिएपछि अन्तिम स्वीकृतिका लागि विभागमा जानुपर्ने नियम थियो ।
राजदूत र मन्त्री भट्टबीचको भेटपछि नयाँ नियम लागु गरिएको हो । केही दिनअघि पहिला भिसा दिने कि विभागबाट स्वीकृति लिने भन्ने विवादका कारण इजरायली दूतावासले कामदार भिसा दिने प्रक्रिया स्थगित गरेको थियो ।
सचिव पाण्डेकाअनुसार इजरायल जाने सुरु प्रक्रियामै श्रम मन्त्रालयलाई जानकारी होस् भनेर नयाँ व्यवस्था लागु गर्न खोजिएको हो । इजरायल र प्यालेस्टाइनबीच भड्केको हिंसाका कारण इजरायल जान प्रतिबन्ध लगाइएको भन्ने कुरा सत्य नभएको पनि सचिव पाण्डेले जानकारी दिनुभएको छ। कामदार जान रोक लगाइएकोबारे इजरायली राजदूतले चासो राखेपछि श्रम मन्त्रालयले यस्तो निर्णय नभएको जानकारी गराएको हो ।
भेटघाटमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव युवराज पाण्डेको पनि उपस्थिति थियो ।
श्राेत फ्रीनेपाल