is2

नमस्ते इन्टरनेसनल प्रा. ली द्वारा शुक्रवार र शनिवार इजरायलको तेलभिभिवको हागानामा आयोजना गरिएको सांगितिक कार्यक्रम नेपाली साँझ (२) को पहिलो दिन शुक्रवारको कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । रातको ठिक ८ बजेबाट शुरु गर्ने भनिएतापनि निर्धारित समयभन्दा डेढ घण्टा ढिलो ९.३० बजेदेखि शुरु भएको कार्यक्रम नेपाली राजदुतावासका मिनिस्टर काउन्सुलर श्री मुक्तिनाथ भट्टको स्वागत मन्तव्यबाट थालनी गरिएको थियो । कार्यक्रमको संयोजन पाल्तेन शेर्पाले गर्नुभएको थियो उक्त कार्यक्रम नेपालमा रहेका अनाथ बालवालिकाको सहयोगार्थ गरिएको संयोजक पाल्तेन शेर्पाले जानकारी दिनुभयो ।

कलाकार भिषा लिएर आउनुपर्ने नेपाली कलाकारद्वयहरु पर्यटक भिषामा इजरायल आएर कार्यक्रम देखाउन नपाइने इजरायलको कानुनको शिकार भई प्रति व्यक्ति बिस हजार शेकेल धरौटी तिरेर १० घण्टाको इजरायली अध्यागमन पुलिसको नियन्त्रणबाट छुट्कारा पाएका भएतापनि कार्यक्रममा भने खुब जमेका थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने जिरे खुर्सानीका अत्यन्तै लोकप्रिय कलाकार जितु नेपालले राजसंस्था, नेपालमा जारिरहेको प्रति दिन १८ घण्टाको लोडसेडिङ, नेपालको धुलो धुवाँ, आफूहरु इजरायल आउदाको झन्झट आदिलाई अत्यन्तै रोमाञ्चक तवरले केमडिमा ढाल्दै प्रस्तुत गरेका थिए भने प्रम प्रचन्ड, गिरिजा प्रसाद कोइराला, शेर वहादुर देउवा, रामचन्द्र पौडेलको क्यारिक्रेचर गरेर दर्शकहरुलाई खुव हसाएका थिए भने चर्चित सिने कलाकार दिलिप रायमाझी र चर्चित दोहोरी गायिका शिला तामाङ्को नृत्यले कार्यक्रमलाई थप आकर्षण दिलाएको थियो । कार्यक्रममा ४ बर्षिया बालिका चोटिम शेर्पाद्वारा लालिगुराँस चम्पाचमेली नामक गितको नृत्य प्रस्तुत गरेर सबै दर्शकहरूलाई मन्त्रमुघ्द र छक्क पारेकी थिइन् । त्यस्तै लोकप्रिय गायकहरु क्रान्ति आलेले आफ्नो चर्चित गित सरकारी जागिर, च्याङ्वा हे च्याङ्वा लगाएतका गितहरु र निमा रुम्वाले रातमा पनि दिनमा पनि, ओ मेरि लोलिता लगाएतका थुप्रै गितहरु गायर दर्शकहरुलाई नचाए भने दर्शकहरु स्टेजको अगाडि झुम्मिएका देखिन्थे ।

कार्यक्रम रातको १.३० बजेसम्म चलेको थियो भने कार्यक्रममा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेकोले बस्ने ठाउँको समेत अभाव देखिएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ इजरायलका अध्यक्ष भुनसिंह कुवरबाट १,११,१०१ रुपैयाँ दिई चन्दा संकलनको शुरुवात गरेका थिए ।

तस्वीर र समाचार
निर्मल श्रेष्ठ तेलअभिव